सूचना प्रविधिमा आएको तीव्र विकासले मानव जीवनमा आमूल परिवर्तन ल्याएको छ । अन्य मुलुकको तुलनामा सुस्त गतिले भए पनि हालैका वर्षमा नेपालमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति देख्न थालिएको छ । विश्वबजारमा सूचना-प्रविधि क्षेत्रमा भइरहेका नयाँ-नयाँ विकासलाई नेपालले आत्मसात गर्न सक्नु एउटा उपलब्धि हो । ०५० सालमा मर्कन्टाइल कम्पनीले नेपालमा पहिलोपटक इन्टरनेट सेवा सुरु गरेको हो । त्यसयता नेपालमा सूचना प्रविधिको विकासले व्यापक गति लिएको छ ।
सूचना प्रविधिको क्षेत्रमा भएको विश्वव्यापी विकास र विस्तारसँगै नेपालमा पनि सूचना प्रविधिको प्रयोग व्यापक हुँदै गएको छ । सूचना प्रविधिका प्रणालीमा प्रयोग गरिने उपकरण, अपरेटिङ सिस्टम, सफ्टवेयर, सूचना प्रविधि प्रणाली, डाटाबेस, तथ्याङ्क भण्डारणमा प्रयोग गरिने सङ्केत कोडलगायतका विषयमा एकरूपता कायम गर्न आवश्यक मानकीकरणको विकास तथा प्रयोग भएको देखिँदैन । यसले गर्दा सूचना प्रविधिको क्षेत्रमा प्रयोगमा रहेका उपकरण, अपरेटिङ सिस्टम, सफ्टवेयर, सूचना प्रविधि प्रणालीलगायतमा विविधीकरण हुन गई यस्ता स्रोतसाधनको उपयोग, मर्मतसम्भार तथा नियमितताका लागि अतिरिक्त स्रोत, साधन तथा दक्ष जनशक्ति आवश्यक हुन्छ ।
विद्युतीय सरकारको अवधारणाबमोजिम सूचना प्रविधिका प्रणालीमा विभिन्न प्रकारका सङ्केत कोड प्रयोगमा आई त्यस्ता प्रणालीलाई अन्तरआबद्धता गरी एकीकृत रूपमा सेवा प्रवाह गर्नु आजको आवश्यकता हो । नेपाल सरकारको सूचना प्रविधि प्रणाली (व्यवस्थापन तथा सञ्चालन) निर्देशिका, २०७१ मा समेत सूचना प्रविधि प्रणालीका लागि विभिन्न प्रकारका मानक निर्धारण गरी तोक्न सक्ने व्यवस्था गरेको छ । यसरी मानक निर्धारण भएमा सबै सरकारी निकायले यसलाई अनिवार्य कार्यान्वयनमा ल्याउनुपर्ने व्यवस्थासमेत गरेको छ ।
वि.सं. २०२८ को जनगणनाको तथ्याङ्क प्रशोधनमा कम्प्युटरको प्रयोगपश्चात् सूचना प्रविधिको प्रयोगमा बढोत्तरी हुँदै गएको छ । हाल सूचना प्रविधिको प्रयोग अनिवार्य जस्तै हुँदै गएको भए पनि सूचना प्रविधिको क्षेत्रमा प्रयोगमा आउने उपकरण, सफ्टवेयर, प्रणाली आदि प्रयोग गर्दा अपनाउनुपर्ने मानक निर्धारण गर्न सकेको देखिँदैन । मानक निर्धारणले सरकार तथा निजी क्षेत्रमा प्रयोगमा ल्याइने उपकरणको न्यूनतम गुणस्तर कायम गर्न सघाउ पु¥याउँछ भने कम गुणस्तरको उपकरण प्रयोगमा रोक लगाउँदा उपकरण तथा सफ्टवेयर खरिदमा स्रोत साधनको अनावश्यक प्रयोग हुनसमेत रोक्ने गर्दछ ।
मानकीकरण गरिनुपर्ने विषय सूचना प्रविधि प्रणालीका उपकरण सूचना प्रविधि प्रणाली सञ्चालनमा प्रयोग गरिने सर्भर, नेटवर्क उपकरण, सुरक्षासम्बन्धी उपकरण पनि विभिन्न निकायले फरक–फरक विशेषता तथा स्पेसिफिकेसनका आधारमा प्रयोगमा ल्याउँदा त्यस्ता उपकरणको छुट्टा–छुट्टै रूपमा नियमित अनुगमन, मर्मत–सम्भार र व्यवस्थापन गर्नुपर्छ ।
त्यसका लागि सूचना प्रविधिको क्षेत्रमा हाल उपलब्ध सीमित जनशक्तिको दक्षता अभिवृद्धिसमेत गर्नुपर्छ । थप जनशक्तिको प्रयोग हुने भएकाले थप स्रोत, साधन र समयको आवश्यकता पर्छ । प्रयोग गरिने सर्भर, नेटवर्क उपकरण, सुरक्षासम्बन्धी उपकरणको न्यूनतम मानकीकरण निर्धारण गरी कार्यान्वयनमा ल्याउनुपर्छ । यसो गर्न सकेमा सूचना प्रविधिको क्षेत्रमा एकै प्रकारका उपकरणको प्रयोगमा वृद्धि हुनेछ । त्यस्ता उपकरणको नियमित अनुगमन तथा मर्मतसम्भारमा स्रोत तथा साधनको प्रयोगमा कमी आउनुका साथै जनशक्ति थोरै भए पनि पुग्नेछ ।
कार्यसम्पादनमा प्रयोगमा ल्याइने उपकरण
हाल प्रायः सबै निकायको कार्यसम्पादनमा कम्प्युटर तथा प्रिन्टरलगायत अन्य उपकरणको प्रयोग अनिवार्य जस्तै भइसकेको छ । यसरी अनिवार्य जस्तै भइसकेका यस्ता उपकरण प्रत्येक निकाय, शाखा÷महाशाखामा फरक–फरक पाइने गरेको देखिन्छ । यसले गर्दा कुनै विशिष्टीकृत शाखा÷महाशाखाबाहेक सबैलाई समान व्यवहार गर्न नसकेको जस्तो देखिने गरेको छ । यसर्थ सबैलाई समान हुने गरी कार्यालयको कार्यसम्पादनमा प्रयोगमा ल्याइने यस्ता उपकरणको न्यूनतम मानकीकरण गरी कार्यान्वयनमा ल्याउन सकेमा समान तहका लागि समान स्पेसिफिकेसनका उपकरणको प्रयोगमार्फत समान व्यवहार गर्न सहज हुनुका साथै यस्ता उपकरणको मर्मतसम्भारमा लाग्दै आएको खर्चमा समेत कमी ल्याउन सकिनेछ ।
अपरेटिङ सिस्टम
सूचना प्रविधि प्रणाली सञ्चालनमा अनिवार्य सर्भर कम्प्युटर तथा व्यक्तिगत कम्प्युटरमा राखिने गरेका अपरेटिङ सिस्टम एउटै नभई विविधता हुने गरेको छ । कम्प्युटरमा राखिने अपरेटिङ सिस्टममा माइक्रोसफ्ट विन्डोजको बोलवाला भए पनि कतिपय कम्प्युटरमा एप्पलको म्याक अपरेटिङ सिस्टमका साथसाथै खुलास्रोतमा आधारित लिनक्सका विविध संस्करणसमेत प्रयोगमा छन् । यस्ता विविध अपरेटिङ सिस्टमका समेत विविध संस्करण हुने र समस्या आउँदा अपनाउनुपर्ने विधिसमेत विविध प्रकारका हुने गर्दछ । यसले गर्दा थप स्रोत र साधनको आवश्यकता पर्ने गर्दछ भने कतिपय अवस्थामा समस्या समाधानका लागि बाहिरी व्यक्ति÷संस्थाको समेत सहयोग लिनुपर्ने अवस्था सिर्जना हुन्छ । त्यस्तो अवस्थामा थप स्रोतको व्यवस्थासमेत गर्नुपर्ने देखिन्छ ।
यसका साथै, माइक्रोसफ्टको विन्डोज तथा एप्पलको म्याक अपरेटिङ सिस्टम प्रयोग गर्न लाइसेन्स शुल्क तिर्नुपर्ने हुन्छ । निःशुल्क रूपमा प्रयोग गर्न सकिने खुला स्रोतमा आधारित लिनक्सका विविध संस्करण चलाउन यसमा जोडिने अरू उपकरणका लागि उपलब्ध हुने सफ्टवेयरको कमीलगायतका कारण सञ्चालनमा सहज अवस्था रहेको महसुस गरिँदैन । तथापि सूचना प्रविधि प्रणाली सञ्चालनमा प्रयोग गरिने सर्भरमा लिनक्स अपरेटिङ सिस्टम विश्वभर बढी प्रयोगमा आउँछ । सूचना प्रविधि प्रणाली सञ्चालनका लागि महŒवपूर्ण रूपमा रहेका कम्प्युटरमा प्रयोग गरिने अपरेटिङ सिस्टमका सन्दर्भमा माइक्रोसफ्टको विन्डोज, एप्पलको म्याक र लिनक्सको प्रयोग गरिनुपर्ने क्षेत्रसमेत तोक्दै सोका लागि मानकीकरण गर्न जरुरी छ ।
डाटाबेस
सूचना प्रविधि प्रणालीबाट प्राप्त हुने तथ्याङ्क भण्डारणमा प्रयोग गरिने डाटाबेस पनि विभिन्न निकायले विभिन्न प्रकारका (शुल्क लाग्ने र खुला स्रोतमा आधारित) प्रयोग गरिरहेका छन् । खुला स्रोतमा आधारित डाटाबेसबाहेक अन्य प्रकारका डाटाबेसको प्रयोग गर्न पनि प्रत्येक वर्ष निश्चित रकम खर्चसमेत भइरहेको छ भने यस्ता विशिष्टीकृत डाटाबेस सञ्चालन तथा मर्मतसम्भारमा नियमित रूपमा खर्चसमेत भइरहेको अवस्था छ । सरकारले शुल्क लाग्ने र खुला स्रोतमा आधारित डाटाबेस प्रयोग गरिने प्रणालीको वर्गीकरण गरी आवश्यक मानकीकरण निर्धारण र कार्यान्वयनमार्फत हाल लाग्दै आएको खर्चसमेत घटाउन सकिनेछ ।
प्रोग्रामिङ भाषा
सरकारी निकायले प्रयोग गर्ने सूचना प्रविधि प्रणालीको निर्माण सरकार आफैँले गर्नुपर्ने र त्यस्ता प्रणालीमा प्रयोग गरिने प्रोग्रामिङ भाषासमेत एउटै हुनुपर्ने मान्यता हुन्छ । विभिन्न कारणले हाल विभिन्न निकायले आफ्नो सूचना प्रविधि प्रणाली निर्माणमा विभिन्न प्रकारका प्रोग्रामिङ भाषा प्रयोग भइरहेको छ । यसले गर्दा यस्ता प्रणाली अद्यावधिक गर्न वा केही विशेषता थप गर्नुपर्ने अवस्थामा हाल विभिन्न दक्षता भएका जनशक्ति उपयोग भइरहेको छ । यसले गर्दा प्रयोग भएका प्रोग्रामिङ भाषाबमोजिम उपलब्ध जनशक्तिको क्षमता अभिवृद्धि गर्न तथा प्रणालीको मर्मतसम्भार गर्न बढी स्रोत साधनको खर्च हुने गरेको छ । सरकारले आफूमातहत निकायमा सूचना प्रविधि प्रणालीको निर्माण बाध्यात्मक बनाएकाले यस्ता प्रणालीमा प्रयोग गरिने प्रोग्रामिङ ल्याङ्ग्वेजका लागि समेत आवश्यक मानकीकरण निर्धारण हुन आवश्यक छ ।
तथ्याङ्कमा रहने सङ्केत कोड
नागरिकलाई प्रवाह गरिने सेवालाई क्रमशः विद्युतीय माध्यमबाट सम्पादन गर्न सूचना प्रविधिका विभिन्न प्रणाली अहिले सञ्चालनमा छन् । यस्ता प्रणालीमा प्रदेश, जिल्ला, स्थानीय तह, कार्यालयलगायतका विषयलाई जनाउन प्रयोग गरिएका सङ्केत कोड सबै प्रणालीमा एकै किसिमका प्रयोग गर्नुपर्ने मान्यता भए पनि कुनै पनि सरकारी निकायले आफूले प्रयोग गर्ने गरेको प्रणालीमा प्रयोग गरिएका यस्ता सङ्केत कोडको मानकीकरण गरेर प्रयोगमा ल्याएको देखिएको छैन ।
यसले गर्दा प्रणाली विकासकर्ताले आफूखुसी यस्ता कोड बनाई प्रयोग गरेको अवस्था छ । यसको कारण विभिन्न सूचना प्रविधि प्रणालीलाई एक–आपसमा अन्तरआबद्ध गर्न त्यस्ता प्रणालीमा प्रयोग भएका कोडलाई एकरूपता कायम गर्न थप कार्य गर्नुपर्ने हुँदा अतिरिक्त स्रोत, साधन तथा जनशक्तिको प्रयोग हुने गरेको छ । सूचना प्रविधि प्रणालीमा प्रयोग गरिने यस्ता सङ्केत कोडको प्राथमिक तथ्याङ्क बनाउने निकायले मानकीकरण एवं प्रमाणीकरण गरी सोहीबमोजिम सबै निकायले प्रयोग गर्न बाध्यात्मक व्यवस्था गर्नुपर्ने अवस्था छ ।
सरकारी, अर्धसरकारी, गैरसरकारी निकायका साथसाथै अन्तर्राष्ट्रिय सङ्घ÷संस्था जस्तै नेसनल इन्स्टिच्युट अफ साइन्ट एन्ड टेक्नोलोजी, अमेरिकन नेसनल स्ट्यान्डर्ड इन्स्टिच्युट, ब्रिटिस स्ट्यान्डर्ड इन्स्टिच्युट, जापानिज स्ट्यान्डर्ड एसोसिएसन, इन्स्टिच्युट अफ इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियर्स स्ट्यान्डर्ड एसोसिएसनलगायतले विश्वव्यापी रूपमा सूचना प्रविधिसम्बन्धी मानकको निर्धारण भइरहेको छ ।
सूचना प्रविधि प्रणालीको अन्तरआबद्धता गरी विभिन्न निकायमा छरिएर रहेका प्रणालीबीच सम्पर्क स्थापना गरी विद्युतीय शासनलाई मूर्तरूप दिन, डिजिटल नेपालको अवधारणा साकार बनाउन, सूचना प्रविधिको प्रयोग गरी कार्यान्वयन गरिने नेपाल सरकारको नीति तथा कार्यक्रम छ । उल्लिखित विभिन्न कार्यक्रम कार्यान्वयनमार्फत उच्चतम उपलब्धि हासिल गर्नसमेत सूचना प्रविधिका क्षेत्रमा प्रयोग गरिने विभिन्न मानक निर्धारण गर्न जरुरी छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ÷संस्थाले केही मानक निर्धारण गरेका छन् । त्यसको जानकारीसहित सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र अन्तर्गतका निकायले यथाशीघ्र आवश्यक मानक निर्धारण गरी सोहीबमोजिम लागू गर्न आवश्यक छ ।
0 Comments